नेपालका विविध क्षेत्रका प्रतिभा
नेपालको माटोमा हरेक कालखण्डमा कोही न कोही असाधारण मानिस जन्मिएका छन् । कसैले साहित्य लेखेर नाम कमाए, कसैले चित्र कोरेर र गीत रचेर । कसैले कक्षाकोठामा पढाएर, कसैले बिरामीको उपचार गरेर, कसैले प्रयोगशालामा खोज गरेर र कसैले कानुनको ज्ञान बाँडेर देशको नाम उचाले । कोही हिमाल चढेर संसारभर चिनिए भने कोही समाजसेवामा जीवन अर्पेर गाउँघरमा पुजिए । यी सबैलाई जोड्ने एउटै धागो छ, त्यो हो लगन ।
तल चारवटा तस्बिर छन् । यी नेपालका फरक फरक क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने राष्ट्रिय व्यक्तित्वका तस्बिर हुन् । कुन तस्बिरका व्यक्तिलाई तपाईं चिन्नुहुन्छ, उनी कुन क्षेत्रका हुन् र उनको योगदान के हो भन्ने विषयमा समूहमा छलफल गर्नुहोस् ।




जीवनी भन्ने विधा
जीवनी: कुनै व्यक्तिको जन्मदेखि मृत्युसम्मको जीवनका महत्त्वपूर्ण घटना, सङ्घर्ष, योगदान र व्यक्तित्वलाई क्रमबद्ध रूपमा अरू कसैले लेखेको गद्य विधा ।
जीवनी कल्पनाबाट बनाइने रचना होइन । यसमा जन्मको साल, ठाउँ, आमाबुबाको नाम, पढाइ, काम, कृति, पुरस्कार र निधनजस्ता तथ्य सालसहित लेखिन्छन् । लेखक बाहिर बसेर लेख्ने भएकाले जीवनीमा 'उनी', 'उनको' जस्ता तेस्रो पुरुषका शब्द चल्छन् । घटनालाई प्रायः समयको क्रममा राखिन्छ, अर्थात् पहिले जन्म, त्यसपछि बाल्यकाल, त्यसपछि सङ्घर्ष र अन्त्यमा योगदान । जीवनी पढ्दा पाठकले एउटा मानिसको जीवनसँगै त्यो समयको समाज पनि देख्न पाउँछ ।
जीवनी र आत्मकथा उस्तै होइनन् । आफ्नै जीवनको कथा आफैँले लेखेमा त्यो आत्मकथा हुन्छ र त्यसमा 'म' आउँछ । अर्को व्यक्तिको जीवन अरूले लेखेमा त्यो जीवनी हुन्छ र त्यसमा 'उनी' आउँछ ।
उमेरले शिक्षालाई छेक्दैन
मानिस बाँचुन्जेल सिकिरहने प्राणी हो । आफूलाई चाहिने शिक्षादीक्षा लिन उमेरले कहिल्यै रोक्दैन । पढाइ लेखाइ बाल्यकालमै सकिने काम होइन, त्यसैले उमेर ढल्कियो भन्ने कारण देखाएर शिक्षा आर्जन रोक्नुपर्ने कुनै बाध्यता हुँदैन । मानिसको भित्री चाहना, अठोट र लगनशीलताका सामु अप्ठ्यारा चुनौती आफैँ हटेर जान्छन् । महान् व्यक्तिले जस्तोसुकै कठिन परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाएर सफलताको शिखर चुम्न सक्छ । यस्तै अनेकौँ हन्डर खाएर जीवनलाई सार्थक बनाउने उदाहरणीय प्रतिभाका रूपमा चिनिन्छन्, स्वामी प्रपन्नाचार्य ।

स्वामी प्रपन्नाचार्यको जीवनीले सिकाउने मुख्य कुरा एउटै हो: सिक्न ढिलो कहिल्यै हुँदैन ।
जन्म, नाम र बाल्यकाल
स्वामी प्रपन्नाचार्यको जन्म पूर्वी नेपालको पाँचथर जिल्लाको फिदिम, बरडाँडामा भएको थियो । उनी आमा दिलमाया र बुबा धर्मदास राईका साहिँला सन्तान हुन् । उनको जन्म वि.सं. १९८० असोज ३ गते शुक्रबार बडादसैँका दिन भएको थियो । न्वारनमा उनको नाम गीतानन्द राखियो, तर बाल्यकालमा गाउँलेले उनलाई काले राई भनेर बोलाउँथे । पछि संस्कृत अध्ययन सकेर सन्त जीवनमा प्रवेश गरेपछि यिनै काले राई स्वामी प्रपन्नाचार्यका नामले संसारभर चिनिए ।
परिवार, धर्म र पेसा
प्रपन्नाचार्यको परिवार किराँत धर्मको अनुयायी थियो । घरमा पारुहाङ र सुम्निमालाई इष्टदेव र देवीका रूपमा अर्चना तथा श्रद्धा गरिन्थ्यो । त्यसका साथै उनको परिवारले वैदिक धर्मसंस्कृतिको पालनामा विशेष जोड दिन्थ्यो र परिवारभित्र जोसमनी सम्प्रदायको प्रभाव पनि परिरहेको थियो । घरभित्र सधैँ शुद्ध शाकाहारी भोजनको व्यवस्था हुन्थ्यो । यस्तो वातावरणमा हुर्केका कारण प्रपन्नाचार्य बाल्यकालदेखि नै आध्यात्मिक चिन्तनतिर उन्मुख हुन थालेका थिए ।
परिवारको पेसा कृषि थियो । जीवन गुजाराका लागि घरका सबै सदस्य खेतीपातीमा दिनरात व्यस्त रहनुपर्थ्यो । हजुरआमा, हजुरबुबादेखि नातिनातिनासम्म सबैले खेतीपाती र गाईवस्तुको हेरचाह गर्नैपर्थ्यो । त्यसैकारण प्रपन्नाचार्यले बाल्यकालमा लामो समयसम्म गाउँमा पढ्न लेख्न पाएनन् । अक्षरको पढाइ नपाए पनि उनीभित्र आध्यात्मिक ज्ञानको भोक भने जागिरह्यो ।
महागुरु फाल्गुनन्दको प्रभाव
वि.सं. १९९४ तिर नेपालमा किराँतवंशका महागुरु फाल्गुनन्दको प्रत्यक्ष प्रभाव थियो । मानिसहरू उनको उपदेशलाई ससम्मान ग्रहण गर्थे । प्रपन्नाचार्यका आमाबुवाले पनि फाल्गुनन्दको प्रवचन प्रत्यक्ष रूपमा पटक पटक सुनेका थिए र अध्यात्मका बारेमा केही न केही बुझ्ने कोसिस गरेका थिए । त्यसै क्रममा एक दिन आमाबुवासँगै आश्रममा पुगेका १४ वर्षीय प्रपन्नाचार्यले त्यहीँ बस्ने निधो गरे । कडा अनुशासनका बिच उनले आश्रमका नीति नियम पालन गर्न थाले । यहीँ बस्दै जाँदा उनी मुन्धुमको महत्त्वका बारेमा पनि जानकार हुँदै गए ।
वैराग्य र भारततिरको यात्रा
वि.सं. २००५ को चैत महिनामा अचानक फाल्गुनन्दको निधन भयो । त्यस दिनदेखि प्रपन्नाचार्यभित्र वैराग्यको अनुभूति हुन थाल्यो । केही समयपछि उनले आश्रम छोडेर गाउँमै सीतारामदिलका नामबाट विजुवाको काम गरे । तर त्यसमा उनी लामो समयसम्म अडिग रहन सकेनन् । त्यसपछि उनी कामको खोजी गर्दै भारतको दार्जिलिङतिर निस्किए । त्यहाँका विभिन्न चियाकमानमा काम खोजे, तर कहीँकतै काम पाउन सकेनन् र पुनः नेपाल फर्किए । त्यसै वेला पण्डित दामोदर खतिवडासँग उनको भेट भयो । दामोदरलगायत केही व्यक्तिको एउटा समूह तीर्थाटनका लागि भारत जाँदै रहेछ । प्रपन्नाचार्य पनि तिनको साथ लागेर वि.सं. २०१० मा भारतको बनारस पुगे ।
तीस वर्षको उमेरमा अक्षर चिनेको दिन
प्रपन्नाचार्यले ३० वर्षको उमेरमा भारतका विभिन्न ठाउँमा अध्ययनका लागि आश्रमको खोजी गरे । उनलाई कुनै पनि आश्रमले राख्न मानिरहेको थिएन । कठिन अवस्थामा उनले एउटा होटलमा काम गर्नुपर्ने बाध्यता आइलाग्यो । त्यसै क्रममा त्यहाँ एक जना गोर्खा रेजिमेन्टका अवकाश प्राप्त व्यक्ति हीराबल्लभ थपलियाकी छोरी सरस्वतीसँग उनको भेट भयो । उनी शिक्षक थिइन् ।
सरस्वतीले आफ्नो घरमा काम लगाउँदै प्रपन्नाचार्यलाई अक्षर चिनाउन थालिन् । एक महिनामा स्वर र तीन महिनामा व्यञ्जन वर्ण सिकेपछि सरस्वतीले उमेर घटाएर उनलाई आफ्नै विद्यालयको एक कक्षामा भर्ना गरिदिइन् । त्यहाँ उनले पाँच कक्षासम्मको अध्ययन गरे । त्यसपछि वि.सं. २०१६ तिर उनी गढवालको रुद्रप्रयाग पुगेर अध्ययन गर्न थाले ।

संस्कृत शिक्षा र उपाधि
पढाइको क्रममा उनले कहिले हरिद्वार त कहिले बनारसलगायतका ठाउँमा सङ्घर्ष गर्नुपऱ्यो । वि.सं. २०२१ मा उनी संस्कृत विषयमा पूर्वमध्यमा उत्तीर्ण गर्न सफल भए । त्यसपछि वि.सं. २०३० मा उनले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आचार्य तह उत्तीर्ण गरे । त्यसै गरी वि.सं. २०३६ मा उनले भारतको राष्ट्रिय संस्कृत संस्थानबाट वेदान्त विषयमा विद्यावारिधि तहको उपाधि प्राप्त गरे । यसरी ३० वर्षको उमेरमा काले राईका नामबाट कखरा सिक्न भारतको बनारस पुगेका प्रपन्नाचार्यले ५६ वर्षको उमेरमा आफूलाई डा.स्वामी प्रपन्नाचार्यका रूपमा स्थापित गराए ।
| साल | उपलब्धि |
| वि.सं. २०२१ | संस्कृत विषयमा पूर्वमध्यमा उत्तीर्ण |
| वि.सं. २०३० | सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आचार्य तह उत्तीर्ण |
| वि.सं. २०३६ | राष्ट्रिय संस्कृत संस्थानबाट वेदान्त विषयमा विद्यावारिधि |
| वि.सं. २०७१ | नेपाल संस्कृत विश्वविद्यालयबाट महाविद्यावारिधिको मानार्थ उपाधि |
नेपाल फर्केपछिको चिन्तन
स्वामी प्रपन्नाचार्य वि.सं. २०३७ पछि प्रायः आफ्नो मातृभूमि नेपालमै बस्न थालेका थिए । उनलाई वि.सं. २०४५ देखि पशुपतिक्षेत्र विकास कोषमार्फत चन्द्रेश्वर सत्तलमा बस्ने व्यवस्था मिलाइएको थियो । उनी त्यहाँ बसेर अध्ययन, चिन्तन र धर्मदर्शनको व्याख्या गरिरहन्थे । वेद, वेदान्त, धर्मदर्शन तथा इतिहास आदि अनेकौँ पूर्वीय विषयवस्तुलाई युगसापेक्ष किसिमबाट सर्वसाधारणसम्म पुऱ्याउन कोसिस गर्थे ।
उनी जीवनलाई समतामूलक बनाउनुपर्ने कुरामा जोड दिन्थे । संस्कृतको महान् ग्रन्थ वेदलाई सबैले पढ्न र बुझ्न पाउनुपर्छ भन्ने उनको मान्यता थियो । उनी प्राचीनकालमा किराँतहरू नेपालको प्राचीनतम वंश मानेर हिन्दु समाजभित्र अभिन्न रहेको बताउँथे । मानिस मानिसबिच कहिल्यै कुनै भेदभाव छैन र हुनुहुँदैन भन्ने उनको स्पष्ट धारणा थियो । उनी भन्थे, "हरेकले सादा जीवन उच्च विचारका लागि प्रयास गर्नुपर्छ । साधुसन्त शिक्षा र साधनामा समर्पित हुनुपर्छ । हरेक मानिसमा सधैँ नैतिकता, इमानदारिता, जिम्मेवारीपन र असल चरित्रको आवश्यकता पर्छ ।" प्रपन्नाचार्यका यस्ता विचार मानव कल्याणका लागि महान् मानिन्छन् ।
कृति र लेखन
प्रपन्नाचार्यले आजीवन वेदका दार्शनिक विचारको व्याख्या गरिरहे । उनले सबैलाई असल राष्ट्रभक्त भएर बाँचिरहन आग्रह गरे । नेपालको प्राचीनतम इतिहासलाई त झन् कहिल्यै कसैले पनि भुल्न नहुने उनको भनाइ थियो । उनका संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका झन्डै चार दर्जन जति पुस्तकसमेत प्रकाशित छन् । उनका अधिकांश पुस्तक मानवतामा आधारित छन् ।
| कृति | प्रकाशन साल |
| सन्मार्ग दर्शन | २०३३ |
| प्राचीन हिन्दु विज्ञान | २०३६ |
| वेदमा के छ ? | २०३७ |
| किराँत मङ्गोलियाबाट आएका शरणार्थी होइनन् | २०४७ |
| काले राईका क्वाँटी कविता | २०५० |
| प्राचीन किराँत इतिहास | २०५१ |
| मानव अधिकार हनन के हो ? | २०५१ |
| महागुरु फाल्गुनन्द सरस्वती सत्यहाङ्माको जीवनी | २०५४ |
| सङ्क्षेपमा मेरो जीवनयात्रा | २०५९ |
व्यक्तित्व, भाषा र देशविदेशको भ्रमण
प्रपन्नाचार्य बहुभाषी, सिर्जनशील, विनम्र, सन्त एवम् प्रकाण्ड विद्वान् थिए । उनी मानवतावादी चिन्तनका आदर्श धरोहर थिए । उनमा नेपाली, राई, संस्कृत, हिन्दी र अङ्ग्रेजी आदि अनेकौँ भाषा प्रयोग गर्न सक्ने क्षमता थियो । संस्कृत वाङ्मयभित्रका अथाह ज्ञानलाई व्यावहारिक रूपमा आत्मसात् गर्न सक्ने साधना थियो । आजीवन वेद, वेदान्त, साहित्य, इतिहासलगायत विषयमा केन्द्रित भई अध्ययन अनुसन्धान गर्न सक्ने सामर्थ्य थियो । उनी सङ्गीतमा समेत रुचि राख्थे । यस्ता विविध विषयमा भएको अटुट लगावका कारण उनले पाएको सिद्धि असाधारण मानिन्छ ।
मानव भ्रमणशील प्राणी भएकाले उसले पढेर जति सिक्छ, त्यति नै त्यसलाई भ्रमण र प्रयोगबाट विस्तार गर्न सक्छ । प्रपन्नाचार्यले पढाइ र शास्त्रार्थसँगै संसारका विभिन्न देशको भ्रमण गर्ने अवसर पाए । त्यसै क्रममा उनले प्रवचन र व्याख्यानका माध्यमबाट शास्त्रीय ज्ञानको विस्तार गरिरहे । उनी जहाँ पुग्थे त्यहाँ पूर्वीय दर्शनका बारेमा प्रवचन दिन्थे । संस्कृत वाङ्मयका ग्रन्थलाई सबैले बुझ्ने गरी बताउँथे, त्यसैले उनको प्रवचनमा सबैको रुचि र आकर्षण हुन्थ्यो । उनले आफ्नो जीवनकालमा नेपाल र भारतका अतिरिक्त युरोप, इङ्ल्यान्ड, फ्रान्स, बेल्जियम, हल्यान्ड, स्विजरल्यान्ड, इटाली, अस्ट्रेलिया, जर्मनी तथा अरबलगायत देशको भ्रमण गरेका थिए ।
पुरस्कार, सम्मान र देहावसान
आजीवन लोकहितमा समर्पित वैदिक वाङ्मयका प्रखर व्याख्याता प्रपन्नाचार्यलाई देशविदेशबाट अनेकौँ पुरस्कार तथा सम्मान अर्पण गरिएको पाइन्छ । उनले आदिकवि भानुभक्त, गुणराज, पाणिनि, शङ्कराचार्य आदि विशिष्ट पुरस्कार प्राप्त गरेका थिए । उनलाई राजपरिषद् स्थायी समिति सदस्यका रूपमा समेत मनोनित गरिएको थियो । वि.सं. २०७१ मा नेपाल संस्कृत विश्वविद्यालयद्वारा महाविद्यावारिधिको मानार्थ उपाधिबाट पनि उनी विभूषित भएका थिए ।
जीवनको उत्तरार्धसम्म आइपुग्दा स्वामी प्रपन्नाचार्यलाई नेपाल सरकार, पशुपतिक्षेत्र विकास कोष, नेपाल प्रज्ञा प्रतिष्ठान र अन्य समूहबाट मासिक रूपमा आर्थिक सहयोग प्राप्त भइरहेको थियो । उनी पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिए । त्यसै कारण वि.सं. २०७२ भदौ ४ बिहीबार राती ३:३० बजे काठमाडौँको पशुपति मृगस्थलीस्थित आश्रममा उनको देहावसान भयो । उनको भौतिक शरीर संसारबाट विदा भयो, तर उनका महान् योगदान सधैँ हामीसँगै रहिरहेका छन् ।

यो जीवनीले दिने प्रेरणा
वास्तवमा स्वामी प्रपन्नाचार्य अध्ययनलाई उमेरले कहिल्यै छेक्दैन भन्ने विचारका दृष्टान्त हुन् । उनी पढ्न चाहनेले बितेको समयप्रति पछुतो गरिरहनुभन्दा बाँकी समयको सदुपयोग गर्नुपर्छ भन्ने कुराका उदाहरण हुन् । उनले स्वयम् ३० वर्षको उमेरमा अक्षर चिनेर आफूलाई प्रकाण्ड विद्वान्का रूपमा स्थापित गराए । आफ्ना दिव्य प्रेरणा र दार्शनिक विचारका माध्यमबाट लाखौँलाख मानिसलाई सचेत तुल्याए । उनले समग्र मानवहितलाई ध्यानमा राखेर मात्र आजीवन हिन्दु धर्मको व्याख्या गरिरहे । नेपालका विभिन्न जातजातिबिच आत्मीयता र समानताको भावना फैलाइरहने कुरामा समेत उनका पक्षबाट कहिल्यै कुनै कमी रहेन । यसरी स्वामी प्रपन्नाचार्य महान् सन्त, संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाता तथा व्याख्याताका रूपमा अमर बन्न पुगे ।
बितेको समयको पछुतो गर्नुभन्दा बाँकी समयको सदुपयोग गर्नु नै यो जीवनीको सबैभन्दा ठुलो सन्देश हो ।
पूरा पाठ तपाईंकै लागि तयार छ
नोट पूरै निःशुल्क पढ्न पाइन्छ। निःशुल्क खाताले बाँकी अभ्यास खोल्छ र हरेक विषयको प्रगति तथा आत्मविश्वास अंक राख्छ। प्रस्तुतीकरण र भिडियोका लागि Learn Yeti को स्वीकृति चाहिन्छ।