सङ्घर्ष गरेर नाम कमाउने मानिस
संसारमा नाम कमाएका मानिसका तस्बिर हेर्दा पहिले उनीहरूको सफलता मात्र देखिन्छ । पदक, उपाधि र सम्मान देखिन्छ । तर त्यो सफलताभन्दा अघिका वर्षहरू तस्बिरमा देखिँदैनन् । अब्दुल कलामले भनेका छन्, "मानिस गरिब भएर जन्मनु अपराध होइन तर गरिब बनेर मर्नु चाहिँ अपराध हो ।" यो भनाइको तात्पर्य मानिसले जसरी पनि धनसम्पत्ति कमाउनुपर्छ भन्ने होइन । उनले त महान् काम गरेर जीवन सार्थक बनाउनुपर्छ भन्ने पक्षमा जोड दिएका हुन् ।
मानिसले आफ्नो लक्ष्यको यात्रामा आर्थिक, सामाजिक, शारीरिक र मानसिकलगायत समस्याको सामना गर्नुपर्छ । यस्ता समस्याको सामना गर्नुलाई सङ्घर्ष भनिन्छ । दृढ सङ्कल्प र निरन्तरको साधनाबाट मात्र मानिसले सफलताको शिखर चुम्न सक्छ । प्रत्येक सफल व्यक्तिले जीवनमा सङ्घर्ष गरेकै हुन्छ ।



जीवनी भनेको के हो
जीवनी : कुनै व्यक्तिको जन्मदेखि निधनसम्मका मुख्य घटना, काम र योगदानलाई अर्को लेखकले समयक्रम मिलाएर लेखेको रचना ।
जीवनीमा लेखिने कुरा कल्पना होइन, सत्य घटना हुन् । त्यसैले जीवनीमा मिति, ठाउँ, व्यक्तिका नाम र सङ्ख्या ठिक हुनुपर्छ । जीवनी लेख्दा लेखकले त्यस व्यक्तिका सबै दिन लेख्दैन । उसले जीवनलाई मोड दिने घटना छानेर मात्र लेख्छ । जन्म, शिक्षा, रुचि, सङ्घर्ष, ठुलो उपलब्धि र अन्त्य, यी नै जीवनीका मुख्य खम्बा हुन् ।
जीवनी र आत्मकथा एउटै होइनन् । अरूले लेखिदिएको भए जीवनी हुन्छ, आफ्नै जीवनबारे आफैँले लेखेको भए आत्मकथा हुन्छ । 'जुन्को ताबेई' जीवनी हो, किनभने यसमा ताबेईको कथा अर्कैले लेखेको छ ।
जुन्को ताबेईको जन्म र बाल्यकाल
अभाव, चुनौती र प्रतिकूलतासँग सिँगौरी खेल्दै सफलताको शिखर चुम्नु महान् व्यक्तिको लक्षण हो । त्यस्तै महान् व्यक्तिको सूचीमा रहेकी विश्व कीर्तिमानी सर्वोच्च शिखर सगरमाथा आरोही प्रथम महिलाको नाम हो, जुन्को ताबेई । उनी संसारका सर्वाधिक उच्च शिखर सफल आरोहण गर्ने जापानी महिला हुन् ।

उनी २२ सेप्टेम्बर सन् १९३९ मा फुकुसिमा प्रान्तको एउटा सानो सहर मिहरुमा जन्मिएकी थिइन् । उनका बुबा कुनै विज्ञापन कम्पनीमा होर्डिङ बोर्ड छपाइको काम गर्थे भने आमा गृहिणी थिइन् । उनीहरूका सात सन्तानमध्ये जुन्को चाहिँ पाँचौँ सन्तानका रूपमा जन्मिएकी थिइन् ।
उनलाई सानै उमेरदेखि विद्यालयमा भर्ना गरियो तर उनी निमोनियाको चपेटामा परिरहिन् । उनले कैयौँ दिनसम्म विद्यालयमा उपस्थित भएर पढ्न पाइनन् । अस्वस्थता र कमजोरीका कारण उनको बाल्यकालीन अध्ययन सोचेजस्तो हुन सकेन । तापनि उनले जसोतसो माध्यमिक शिक्षा उत्तीर्ण गरिन् ।
विद्याधन र उच्च शिक्षाको यात्रा
विद्याधन नै सबैभन्दा ठुलो धन हो भन्ने कुरा ताबेईका मनमा गढिरहेको थियो । रोगले पढाइ बिगारे पनि उनी जसरी भए पनि उच्चशिक्षा लिनुपर्छ भन्नेमा सतर्क थिइन् । उनले आफ्नो शिक्षालाई अझै सशक्त किसिमबाट अगि बढाउने योजना बनाइन् । उनको चहनालाई आमाबुबाले समेत होस्टेलमा हैँसे गरे ।
परिणामस्वरूप उनी पहिलो पटक टोकियो विश्वविद्यालयमा भर्ना हुन पुगिन् । तर पढाइको केही समयपछि नै उनलाई त्यहाँ असहजताको अनुभूति भयो । त्यसपछि उनी पुनः अर्को विश्वविद्यालयको खोजीतर्फ लागिन् । त्यसै क्रममा उनले सोवा महिला विश्वविद्यालयमा भर्ना हुने अवसर पाइन् । त्यहाँ सन् १९५८ देखि १९६२ सम्म अङ्ग्रेजी साहित्यकी विद्यार्थी बनेर उनले उच्च शिक्षा हासिल गरिन् ।
पर्वतारोहणतर्फको लगाव
हरेक व्यक्तिभित्र कुनै न कुनै क्षेत्रमा रुचि वा लगाव हुन्छ । कसैलाई पढ्ने लेख्ने रुचि हुन्छ त कसैलाई नाच्ने गाउने । कसै कसैमा कुनै नयाँ काम गरेर कीर्तिमान कायम राख्ने चाहना हुन्छ । ताबेईभित्र चाहिँ पर्वतारोहणप्रतिको तीव्र चाहना थियो ।
उनले आफू १० वर्षकी हुँदा शैक्षिक भ्रमणका क्रममा पहिलो पटक जापानको माउन्ट नासुको आरोहण गरेकी थिइन् । त्यस वेला उनी चार कक्षामा पढ्थिन् र केही अस्वस्थ पनि थिइन् । त्यस्तो अवस्थामा पहिलो पटक गरिएको पर्वतारोहणबाट उनी निकै उत्साही बनिन् । त्यसपछि पर्वतारोहणप्रतिको लगावले उनलाई स्नातक तह पूरा गरुन्जेलसम्म निरन्तरता दिइरह्यो ।
समूहमा ठाउँ नपाउँदा आफ्नै क्लब
जुन्को ताबेईको समयमा जापानभित्र पर्वतारोहणसम्बन्धी अनेकौँ अभ्यास हुन्थे । साना ठुला विभिन्न समूहमा अभ्यास गराइन्थ्यो तर ताबेईलाई केही ससाना समूहमा मात्र सहभागी हुने अवसर मिल्थ्यो । उनी अलि वृहत्स्तरबाट ठुलै समूहमा संलग्न हुन चाहन्थिन् । त्यसका लागि उनले धेरैओटा समूहमा सहभागिताका लागि कोसिस गरिरहिन् तर कहीँकतै अवसर पाइनन् । उल्टै कतिपय व्यक्तिले उनको उत्साहलाई हाँसोमा उडाउने काम गरे ।
निकै ठुलो प्रयासपछि उनले बल्लतल्ल एउटा पर्वतारोहणसम्बन्धी 'अल्पाइन क्लब' मा सदस्य बन्ने अवसर पाइन् तर त्यहाँ पनि उनका लागि सहज वातावरण बनेन । यसैबिच एक पर्वतारोही मसानोबुसँग उनको चिनजान भयो अनि उनीहरू सन् १९६५ मा विवाह बन्धनमा बाँधिए । त्यसपछि ताबेईलाई उनका श्रीमान् मसानोबुले पनि सहयोग गर्न थाले ।
अरूले आफ्नो क्लबमा प्रवेश नदिए पनि ताबेई आफैँ महिलाका लागि नयाँ क्लब खोल्ने अठोटमा पुगिन् । आफैँले निर्माण गरेको समूहमा रहेर अभ्यास गर्ने योजनाअनुसार सन् १९६९ मा उनले केही महिलालाई जुटाएर 'लेडिज क्लाइम्बिङ क्लब जापान' को स्थापना गरिन् । यस क्लबको नारा 'आफैँ एक विदेश अभियानमा जुटौँ' भन्ने थियो । केही समयको अभ्यासपछि यस क्लबका महिलाले जापानका माउन्ट फुजी र स्विस एल्प्सको मार्टहार्न जस्ता पर्वतको सफल आरोहण गरे ।
सगरमाथा आरोहणको अनुमति र खर्चको जोहो
जापानबाटै आएको एउटा पर्वतारोही पुरुष समूहले सन् १९७० मा सगरमाथा आरोहण गरिसकेको थियो । उक्त समूहका कतिपय आरोहीले ज्यान गुमाउनुपरेको समाचार पनि सार्वजनिक भएको थियो । त्यस्तो समाचार ताबेईका लागि दुःखद त थियो नै, साथसाथै सतर्कताको विषय पनि थियो । त्यसैले उनले आफ्नो महिला समूहलाई हिमाल आरोहणका क्रममा थप सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिइन् ।
निकै तयारीका साथ उनले सन् १९७० मा नेपाल सरकारसँग सगरमाथा आरोहणको अनुमति मागिन् । लामो समयसम्म कुनै प्रतिक्रिया नपाएपछि उनले पुनः सन् १९७२ मा ताकेता गरिन् र अर्को निवेदन हालिन् । आखिरमा सन् १९७५ का लागि हिमाल आरोहणसम्बन्धी निवेदन स्वीकृत भएको जानकारी पाएपछि उनी अत्यन्त हर्षित भइन् । त्यस वेला उनलाई स्वीकृति पाउनु नै आधा हिमाल आरोहण गर्नु जस्तै भएको थियो ।
हिमाल आरोहणका लागि जति अनुभव, साहस र कला चाहिन्थ्यो त्यति नै खर्चको व्यवस्थापन पनि आवश्यक थियो । ताबेईसँग पर्याप्त धनराशि नभएकाले उनले अन्य विकल्पको खोजी गर्न थालिन् । निकै प्रयासपछि एउटा पत्रिका कम्पनीले उनको अभियानका लागि सहयोग रकम जुटाउने प्रतिबद्धता जनायो, तर त्यति रकमले पुगेन । आखिरमा ताबेईले आफ्ना सम्पूर्ण हिमाल आरोही सदस्यलाई नै आआफ्नो जायजेथाबाट थप रकम जुटाउनुपर्ने कुरामा सहमत गराइन् । आरोहण खर्च कम गर्नका लागि उनले कतिपय वस्तु आफैँ उत्पादन गर्नुपर्ने र अरूले पहिला प्रयोग गरिसकेका वस्तु पनि पुनः प्रयोगमा ल्याउनुपर्ने बताइन् ।
शिविर, खुम्बु फल र डेथ जोन
सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त समय वसन्त ऋतुलाई लिने गरिन्छ । यसै समयलाई आधार मानी सकेसम्म पुरै तयारी र हिम्मतका साथ जुन्को ताबेई आफ्नो समूहको नेतृत्व गरेर सन् १९७५ मा जापानबाट नेपाल आइन् । त्यस वेला उनी ३५ वर्षकी तथा सिन्या र नोरिकोको जस्ता एक छोरा र एक छोरीकी आमा भइसकेकी थिइन् । उनका साथमा १३ महिला र दुई पुरुष सदस्य थिए ।
समूहका सबै सदस्यले काठमाडौँ अवतरणपछि हिमाल आरोहणका लागि पूर्व तयारी गर्न थाले । उनीहरूले फरक फरक उचाइमा बेसक्याम्प बनाउँदै गए । सबैभन्दा पहिले खुम्बु फल क्षेत्रमा बेसक्याम्प बनाए भने त्यसपछि अझै उचाइमा थप दुइटा बेसक्याम्प बनाए ।
बेसक्याम्प : हिमाल आरोहण गर्दा सामान राख्न, विश्राम गर्न र शरीरलाई उचाइसँग अभ्यस्त बनाउन बनाइने आधार शिविर ।
भनिन्छ, सगरमाथा आरोहण र जीवनयात्रा उस्तै हो । जति जोखिम र आनन्द सगरमाथा आरोहण क्रममा मिल्छ त्यति नै आफ्नो जीवनमा पनि उतारचढाव भइरहन्छ । ८,००० मिटरमाथिको सगरमाथा क्षेत्र जुनसुकै समयका लागि जोखिमपूर्ण मानिन्छ । यस्तो क्षेत्रलाई अङ्ग्रेजीमा 'डेथ जोन' पनि भन्ने गरिन्छ । यसभन्दा माथि आरोहण गर्नुपर्दा बल र बुद्धिको मात्र नभई शारीरिक क्षमता र साहसको पनि आवश्यकता पर्छ ।

हिमस्खलनको घडी
ताबेईको समूहले यस्तो कुरा बुझेर नै बिस्तारै बिस्तारै ६,३०० मिटरसम्म पुगी शिविर लगाएको थियो । त्यहीँ विश्राम गरेर पुनः माथिको आरोहण गर्ने पूर्वयोजनाका साथ विश्राम गरिरहेको थियो । सुतिरहेकै वेला अचानक माथिबाट हिमस्खलन हुन पुग्यो । ताबेईसहित अन्य सदस्य हिउँभित्र दबिए ।
संयोगवश साथमा रहेका नेपाली सहयोगी शेर्पाहरूको बहादुरी, चलाखीपन र अथक परिश्रमबाट उद्धार सम्भव भयो । सगरमाथा शिखर चुम्नुभन्दा केही दिनअगाडिको यस घटनाले उनीहरूलाई विशेष पाठ सिकाएर छाड्यो । हिमालले कहिले के गर्छ भन्ने कुरा कसैले भन्न सक्दैन भन्ने कुरा त्यस दिन सबैले बुझे ।
शिखरमा : १६ मे सन् १९७५
सगरमाथा आरोहणको गन्तव्य अर्थात् शिखर नजिकिँदै थियो । 'अल फिमेल क्लाइमिङ पार्टी' को नेतृत्व गर्दै जुन्को ताबेई सहयोगीका साथ क्रेम्प्रोन पाइला अगाडि बढाइरहेकी थिइन् । केही समयपछि डेथ जोन पार गर्दै सम्पूर्ण पर्वतारोही सदस्यले नै सगरमाथाको शिखर चुम्ने अवस्था हुँदै थियो । अचानक अक्सिजन र खानेकुरा सकिनै लागेको जानकारी भयो । दुवै कुरा सकिएपछि यसभन्दा माथि पुगेर फर्किन सक्ने सम्भावना कम हुन थाल्यो ।
जगेडा अक्सिजनले एक जनालाई मात्र सगरमाथा शिखरमा पुगेर फर्किन सकिने देखियो । त्यस वेला तत्काल परिस्थितिको मूल्याङ्कन गरी निर्णय लिनुपर्ने बाध्यता आइलाग्यो । आखिरमा सबै सदस्यले जुन्को ताबेईलाई मात्र भए पनि सगरमाथा शिखरमा पठाउनुपर्ने कुरामा जोड दिए । त्यसपछि आङ छिरिङलगायत सहयोगीका साथमा ताबेई सगरमाथाको शिखरतर्फ लम्किइन् भने बाँकी सदस्य बेसक्याम्पतर्फ फर्किए ।
उच्च मनोबलका साथ अगि बढेकी ताबेईले अन्ततः १६ मे सन् १९७५ का दिन मध्याह्न १२:३० बजे सगरमाथाको शिखर चुमेर विश्वकीर्तिमान कायम गरिन् । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा झन्डा फहराएपछि हिमाल आरोहणको क्रम सुरु भएको थियो । त्यसको ठिक २२ वर्षपछिको ताबेईको सफलतालाई ऐतिहासिक दृष्टिले सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो कीर्तिमानी महिलाका रूपमा स्थापित गरायो । उनलाई जापानी सम्राट् क्राउन प्रिन्स र राजकुमारीबाट मात्र नभई नेपाललगायत विश्वबाट सम्मान, बधाई तथा प्रशंसाभाव प्रकट गरियो ।
सगरमाथापछिको जीवन र निधन
सगरमाथा आरोहणपछि उनी जापान सरकारका तर्फबाट 'हिमालय एडभेन्चर ट्रस्ट जापान' की निर्देशकका रूपमा नियुक्त भइन् । वास्तवमा जुन्को ताबेईले आफ्नो जीवनकालमा सगरमाथा, एकाङ्कागुआ, डेनाली, किलिमन्जारो, माउन्ट बिन्सन, एल्ब्रस, पुणक जयालगायत सात महादेशका सबैभन्दा अग्ला शिखरको आरोहण गरिन् । त्यसैले उनलाई सन् १९९२ मा 'सेभन समिट्स' पूरा गर्ने पहिलो महिलाका रूपमा लिने गरिन्छ ।

सन् २०१२ मा आफूलाई 'पेरिटोनियल क्यान्सर' भएको थाहा पाएपछि पनि उनले जीवन कालमा ७६ देशका सबैभन्दा अग्ला हिमालको आरोण गरेर विश्वकीर्तिमान कायम गरिन् । त्यसका अतिरिक्त उनलाई कुशल शिक्षक र लेखकका रूपमा पनि सम्मान गरिन्छ । उनका सातओटा कृतिसमेत प्रकाशित भएका पाइन्छन् ।
यसप्रकार जीवनको उत्तरार्धसम्म निरन्तर सङ्घर्ष गरिरहने जुन्को ताबेईको ४ फिट ९ इन्च अग्लो शरीरले कहिल्यै थाकेको अनुभूति गरेन । मनमा काम गर्ने उत्साह बाँकी रहँदारहँदै पनि क्यान्सरका कारण स्वास्थ्यमा समस्या देखियो । उनले २० अक्टोबर सन् २०१६ का दिन ७७ वर्षको उमेरमा जापानको सैटास्थित एक अस्पतालमा देहत्याग गरिन् । उनलाई विश्वले भावपूर्ण श्रद्धाञ्जली त अर्पण गर्यो नै, गुगलले समेत मरणोपरान्त डुडल बनाएर सम्मानित गरेको छ ।
जीवनीले दिने सन्देश
जस्तोसुकै अभाव र अप्ठ्यारोपनलाई हिम्मतसाथ पूरा गर्ने ताबेईको भौतिक शरीर नरहे पनि उनी आफ्नो अद्वितीय साहसका कारण सधैँ अमर बनेकी छन् । उनको सफलताले विश्वका नारीलाई मात्र नभएर हरेक पर्वतारोहीलाई उत्प्रेरणा जगाउनुका साथै नेपाल तथा जापानको ऐतिहासिक आत्मीय सम्बन्धलाई जनस्तरबाट अनुमोदन गराएको छ ।
व्यक्तिमा दृढ इच्छाशक्ति भए जतिसुकै चुनौतीपूर्ण काम पनि पूरा गरेरै छाडिन्छ । रोगले पढाइ बिगारेको, समूहले ठाउँ नदिएको, पैसा नपुगेको र हिउँले पुरेको अवस्थामा पनि ताबेई रोकिइनन्, त्यही नै यो जीवनीको मूल सन्देश हो ।
जीवनका मुख्य मितिहरू
| समय | घटना |
| २२ सेप्टेम्बर सन् १९३९ | जापानको फुकुसिमा प्रान्तको मिहरु सहरमा जन्म |
| सन् १९५८ देखि १९६२ | सोवा महिला विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन |
| सन् १९६५ | पर्वतारोही मसानोबुसँग विवाह |
| सन् १९६९ | 'लेडिज क्लाइम्बिङ क्लब जापान' को स्थापना |
| सन् १९७० | नेपाल सरकारसँग सगरमाथा आरोहणको अनुमति माग |
| सन् १९७२ | पुनः ताकेता गरी अर्को निवेदन |
| सन् १९७५ | निवेदन स्वीकृत भएको जानकारी र नेपाल आगमन |
| १६ मे सन् १९७५, मध्याह्न १२:३० बजे | सगरमाथाको शिखरमा पुगेर विश्वकीर्तिमान |
| सन् १९९२ | 'सेभन समिट्स' पूरा गर्ने पहिलो महिला |
| सन् २०१२ | 'पेरिटोनियल क्यान्सर' भएको जानकारी |
| २० अक्टोबर सन् २०१६ | ७७ वर्षको उमेरमा जापानको सैटामा निधन |
बुँदाका आधारमा जीवनी लेख्ने तरिका
कुनै व्यक्तिका बारेमा केही बुँदा मात्र हातमा भए पनि तिनैलाई मिलाएर जीवनी तयार पार्न सकिन्छ । बुँदालाई समयक्रममा उभ्याउने र बिचमा जोड्ने वाक्य थप्ने काम लेखकको हो । तलका चरण पछ्याए जीवनी सजिलै बन्छ ।
- चरण १ : नाम, जन्ममिति र जन्मस्थानबाट सुरु गरी पहिलो अनुच्छेद लेख्नुहोस् ।
- चरण २ : आमाबुबा, परिवार र बाल्यकालको छोटो परिचय दिनुहोस् ।
- चरण ३ : शिक्षा र तालिमका बुँदालाई समयक्रम मिलाएर एउटै अनुच्छेदमा राख्नुहोस् ।
- चरण ४ : जीवनमा मोड ल्याउने मुख्य काम र घटनालाई विस्तारसहित लेख्नुहोस् ।
- चरण ५ : पाएका सम्मान, पुरस्कार र समाजलाई गरेको योगदान उल्लेख गर्नुहोस् ।
- चरण ६ : अन्त्यमा त्यस व्यक्तिबाट के सिक्न सकिन्छ भन्ने निष्कर्ष लेखेर टुङ्ग्याउनुहोस् ।
बुँदालाई जस्ताको तस्तै एकपछि अर्को सारेर सूचीजस्तो बनाउँदा त्यो जीवनी हुँदैन । बुँदाबिच 'त्यसपछि', 'सोही कारण', 'यसै क्रममा' जस्ता जोड्ने शब्द राखेर वाक्य बनाउनुपर्छ ।
पूरा पाठ तपाईंकै लागि तयार छ
नोट पूरै निःशुल्क पढ्न पाइन्छ। निःशुल्क खाताले बाँकी अभ्यास खोल्छ र हरेक विषयको प्रगति तथा आत्मविश्वास अंक राख्छ। प्रस्तुतीकरण र भिडियोका लागि Learn Yeti को स्वीकृति चाहिन्छ।