१दिइएका अर्थ आउने पद वा पदावली ‘कर्तव्य’ कथाबाट खोजेर लेख्नुहोस्: (क) देह वा शरीरको अवसान वा अन्त्य, (ख) अड्डा वा कार्यालय रहेको भवन, (ग) आवाज ननिकाली सासले मात्र अरूका कानमा भनिने गोप्य कुरा, (घ) विवाहमा बेहुलाका साथ बेहुलीको घर जाने व्यक्तिको समूह, (ङ) गाउँको मुखिया वा जिम्मावाल, (च) राम्रो काम गर्नेले पाउने इज्जत वा ख्याति।
२शब्द र अर्थको जोडा मिलाउनुहोस्: ऋचा, मङ्गलधुन, कुटुम्ब, निरोपण, कोलाहल, पितृ, अनिष्ट।
३यो कथांशबाट उखान र टुक्का पहिचान गरी लेख्नुहोस्: “गङ्गाधर कसैको आँखामा राखे पनि नबिझाउने खालका मानिस थिए। गाउँले उनलाई न्यायका प्रतिमूर्ति नै ठान्थे। उनी आफू भलो त जगतै भलो भन्ने सोचका मानिस थिए। उनको यो कृति एक कान दुई कान मैदान हुँदै दश गाउँ फैलियो। सबैतिर उनले न्यायनिसाफ गर्दा कहिल्यै पनि चोरलाई चौतारो साधुलाई शूली गर्दैनन् भन्नेमा सबैको विश्वास थियो। उनको जिब्रो चिप्लो मन कालो थिएन। उनी मनमा एउटा कुरा र मुखले अर्को कुरा गर्दैनथे अर्थात् मनमा लागेका कुरा निर्धक्क भन्ने खुला किताब जस्तै थिए।”
४यी उखान र टुक्कालाई अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्। उखान: हुने बिरुवाको चिल्लो पात, धान खाने मुसो चोट पाउने भ्यागुतो, खाने मुखलाई जुँगाले छेक्दैन, बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन। टुक्का: माया मार्नु, कम्मर कस्नु, कानमा तेल हाल्नु, सुइँकुच्चा ठोक्नु, आगो हुनु, चिसो पस्नु।
५यी शब्दको लेखाइ र उच्चारणमा पाइने भिन्नता पहिचान गर्नुहोस्: शीर्षक, अन्याय, ऊन, सञ्चार, रक्षा, भण्डार, ऋषि।
६‘कर्तव्य’ कथाबाट लेखाइ र उच्चारण भिन्न हुने १० ओटा शब्द टिपोट गरी शुद्ध उच्चारण गर्नुहोस्।
७‘कर्तव्य’ कथा पालैपालो सस्वरवाचन गर्नुहोस्।
८‘कर्तव्य’ कथाको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ?
९कथामा कति जना पात्र छन्, तिनको नाम भन्नुहोस्।
१०कथामा ग्रामीण समाजको परिवेश झल्काउने तथ्य के के हुन्?
११कथामा प्रथम वा तृतीय पुरुषमध्ये कुन दृष्टिबिन्दु प्रयोग भएको छ?
१२कथांश पढेर उत्तर लेख्नुहोस्: “त्यस पाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला। यहाँ बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो। कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बका आँगनमा बरियाती लैजानु छ। बाबु चाहिँ फलैँचामा ओछ्यान लाएर लडिरहेछ। जन्तीमा बुढोपाको एउटा छैन। खालि ओठ निचोर्दा दुध झर्ने अल्लारे ठिटा मात्र छन्। घरगृहस्थीको यति ठुलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान्?” (क) कथांशका आधारमा वक्ताको चरित्र चित्रण गर्नुहोस्।
१३(ख) कथांशमा ‘बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो’ भन्नुको आशय खुलाउनुहोस्।
१४कथांश पढेर उत्तर दिनुहोस्: “मलाई अब धेरै दिन बाँचुला जस्तो लाग्दैन। मैले जीवनमा हजुरप्रति धेरै अत्याचार गरेको छु। यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला। भाइका कुरा सुनेर मुरलीधरले बरर आँसु झारे। ... केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, “बिसेक हुन्छ बा हरेस नखाऊ। बरू अब यहाँका वैद्यको भर गरेर बस्नुभएन। तिमीलाई देशतिर औषधी गराउन लैजान्छु।”” (क) कथांशमा म पात्रले पश्चात्ताप गर्नुको कारण के हो?
१५(ख) मुरलीधरले भाइप्रति कस्तो व्यवहार देखाए?
१६(ग) सिकिस्त भएपछि मात्र उपचार गर्न लानु ठिक हो, तर्क गर्नुहोस्।
१७(घ) ‘हृदयमा दुःखको कोलाहल मच्चिनु’ को आशय खुलाउनुहोस्।
१८यी संवाद कसले कसलाई भनेका हुन्, भन्नुहोस्: (क) मेरा दुवै छोरा बराबर हुन्, आधा आधा बाँडेर खानू। (ख) त्यस महाआत्माको अन्तिम आज्ञा श्रीधरले मान्नैपर्छ। (ग) कसैको मरण होस् त यसप्रकारको होस्। (घ) त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे।
१९यी संवाद कसले कसलाई भनेका हुन्, भन्नुहोस्: (ङ) लौ, घर लगेर भित्र्याऊ। (च) दाज्यूलाई खानपिन त राम्ररी गरायौ के? (छ) खै, सम्धी पाल्नुभएको छैन, अब मण्डपमा आएर बसिदिनुभएहुन्थ्यो। (ज) यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला।
२०‘कर्तव्य’ कथाका मुख्य मुख्य घटना क्रमबद्ध रूपमा टिपोट गरी कथासार तयार पार्नुहोस्।
२१‘कर्तव्य’ कथाका मुरलीधर र श्रीधरका चारित्रिक विशेषता लेख्नुहोस्।
२२कथामा दाजुभाइबिचको सम्बन्धलाई कुन रूपमा देखाइएको छ, लेख्नुहोस्।
२३मुरलीधर र श्रीधरको विवाद नभएको र सम्बन्ध नबिग्रेको भए के हुन्थ्यो होला, अनुमान गर्नुहोस्।
२४‘कर्तव्य’ कथाको सन्देश के हो?
२५‘कर्तव्य’ कथाको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस्।
२६व्याख्या गर्नुहोस्: (क) उनको देहावसानले न्यायको बत्ती निभ्यो, अनाथअशक्तको आशास्तम्भ ढल्यो, गाउँका ‘धन्वन्तरि’ अस्ताए।
२७व्याख्या गर्नुहोस्: (ख) कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले वखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ।
२८‘कर्तव्य’ कथामा श्रीधर र मुरलीधरमध्ये तपाईँ कसको पक्ष लिनुहुन्थ्यो, किन?
२९‘कर्तव्य’ कथामा नेपाली समाजको वास्तविकतालाई कसरी दर्साइएको छ, विवेचना गर्नुहोस्।
३०तपाईँलाई ‘कर्तव्य’ कथामा व्यक्त भएका कुन कुन कुरा मन परे, मन पर्नाका कारणसहित आफ्नो प्रतिक्रिया दिनुहोस्।
३१भाषाबारेको अनुच्छेद पढेर उत्तर लेख्नुहोस्। अनुच्छेदको सार: भाषा देशको अमूल्य सम्पदा हो र एउटा भाषा लोप हुनु भनेको एउटा सम्पदा नासिनु हो। राज्यको पहल र वक्ताको इच्छाशक्तिले मात्र भाषा बाँच्छ। अरू भाषाको प्रभावमा परेर आफ्नो भाषा बोल्न छाडे भाषा हराउँदै जान्छ। प्रयोग विस्तार, शब्दकोश, व्याकरण र साहित्य सिर्जनाले भाषा समृद्ध हुन्छ। बालबालिकालाई मातृभाषामा प्रारम्भिक शिक्षा दिनु बढी प्रभावकारी र स्थायी हुन्छ, त्यसैले नेपालमा २६ भन्दा बढी भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक बनेका छन् र संविधानले मातृभाषामा शिक्षा पाउने अधिकार सुनिश्चित गरेको छ। (अ) मातृभाषालाई कसरी जोगाउन सकिन्छ? (आ) भाषा लोप हुनाको कारण के हो?
३२(इ) भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन के गर्नुपर्छ? (ई) बालबालिकालाई मातृभाषामा प्रारम्भिक शिक्षा दिनु बढी प्रभावकारी र स्थायी हुन्छ, किन?
३३भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्: (अ) ‘नासिन्छ’ क्रियापदको नामधातु पहिचान गर्नुहोस्। (आ) ‘भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन त्यस भाषामा साहित्य सिर्जना पनि गर्नुपर्छ।’ वाक्यलाई प्रेरणार्थक वाक्यमा बदल्नुहोस्। (इ) अनुच्छेदबाट ‘ऋ’ र ‘रि’ प्रयोग भएका एक एकओटा शब्द खोज्नुहोस्।
३४सोलुकी डोल्मा र सिराहाका रामलखनको फोन संवादमा आएका व्यवसायका सम्भावना जस्तै तपाईँको क्षेत्रमा कुन कुन व्यवसायको सम्भावना छ, मौखिक रूपमा प्रस्तुत गर्नुहोस्।
३५यी क्रियामूलको बनोट प्रक्रिया देखाउनुहोस्: जिल्लिनु, हत्याउनु, लजाउनु, रन्किनु, लत्याउनु, रङ्गाउनु, दोहोऱ्याउनु, तातिनु, चिसिनु, चिप्लिनु, गुटमुटिनु, डल्लिनु।
३६‘कर्तव्य’ कथाबाट कुनै पाँचओटा क्रियामूल खोजेर तिनलाई कथामा प्रयोग भएभन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।
३७कुनै पाँच नामधातु पर्ने गरी एउटा अनुच्छेद लेख्नुहोस्।
३८यो अनुच्छेदबाट सामान्यार्थक र प्रेरणार्थक क्रियापद छुट्याउनुहोस्: “आमाले सानी नानीलाई सुताइन् र आफू पनि सुतिन्। सुताउनुभन्दा पहिले आमाले सानी नानीलाई लिटो खुवाइन् र आफूले रोटी तरकारी खाइन्। बिहान आमा सबेरै चार बजे जागिन् र चिया पिइन्। सात बजेतिर सानी नानीलाई जगाइन् र दुध पिलाइन्।”
३९यो अनुच्छेदलाई प्रेरणार्थकमा परिवर्तन गर्नुहोस्: “विनयले खाना खाए। उनी विद्यालय पुगे। घन्टी लाग्यो। उनी कक्षामा पसे। उनले पहिलो घन्टीमा नेपाली विषय पढे। उनले दिउँसो खाजा खाए। उनी बेलुकी घर फर्किए।”
४०प्रेरणार्थक वाक्यको प्रयोग गरी कुनै एक घटनाको वर्णन गर्नुहोस्।
४१‘कर्तव्य’ कथाबाट रि र ऋ प्रयोग भएका तीन तीनओटा शब्द खोजेर लेख्नुहोस्।
४२यो अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस्: “रिषि दऋमा बसेर रिषभसँग भन्दै थिए। झऋमा नहिड्नु, ऋस नगर्नु, एउटा कानमा मात्र ऋङ होइन, दुईओटै कानमा लगाउन ऋङ किन्नु। ऋता माघे सङ्क्रान्ति मेलामा जानू र दिनभऋ रमाइलो गर्नू।”
४३यी बुँदाका आधारमा एउटा छोटो कथा लेख्नुहोस्: प्रवीण धेरै धन कमाइने लोभले विदेश जानु, विदेश स्वदेश जस्तो नहुनु, दिनमा १४ घण्टासम्म काममा जोतिँदासमेत गएको ऋण तिर्न नसक्नु, ऊ देश र गाउँघरको सम्झनाले पिरोलिनु, तुरुन्त विदेश छोडेर आउन पनि नसक्नु, निकै वर्ष दुःख गरेर केही धन आर्जन गर्नु, देशमै फर्केर सानोतिनो लगानी गरी आफ्नै खेतबारीमा पाखुरा खियाउने निधो गर्नु, अहिले आफ्नै देशमा आधुनिक कृषि व्यवसाय अँगाल्नु, राम्रै आम्दानी गर्नु, सुखले जीवन चलाउनु, उसका आमाबुबा बुढेसकालको साहरा पाएर अत्यन्त खुसी हुनु।
४४तपाईँले अध्ययन गर्नुभएको कुनै एउटा सामाजिक कथाको घटना, पात्र र परिवेशको समीक्षा गरी कक्षामा सुनाउनुहोस्।
४५गङ्गाधरलाई ‘ग्रामपिता’ भन्नु किन अत्युक्ति थिएन?
४६जिउनीको विवादमा ‘धर्मको न्याय’ र ‘ऐनको न्याय’ बिच के फरक छ?
४७मुरलीधरले “जिउनीको आधा खेत मैले कमाए तिमीहरू के खान्छौ नि बा?” भन्नुले उनको कस्तो स्वभाव देखाउँछ?