१दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस्: (क) मनमा उत्पन्न हुने भाव वा विचार (ख) श्रीखण्ड घोटेर बनाइएको लेप (ग) गौरवले भरिएको (घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम (ङ) सबैभन्दा उच्च वा अग्लो
२गाईसम्बन्धी यस अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस्: 'गाई मानिसले पाल्ने घरपालुवा जनावर हो । ... मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । ... दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । ... धेरै आम्दानी गर्न सकिन्छ ।'
३दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्: शक्ति, प्रेम, धर्ती, शिर, कर्म, सुन्दर, जिन्दगी, महान्, हावा, आकाश, नयन
४'उज्यालो यात्रा' कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्: निम्न, दुःखी, अज्ञान, सम्भव, आफ्नो, अन्याय
५धारिलो र भुत्ते, धेरै र थोरै जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् ।
६दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्: असम्भव, उच्च, निर्माण, संसार, लालच, सदैव, उद्यत, यात्रा, आदर्श, विश्व
७'जसका कर्मले बन्छन् जिन्दगी हँसिला सुखी / अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी' र 'ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ / तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव' लाई आठ आठ अक्षरमा विश्राम गरी वाचन गर्नुहोस् ।
८'उज्यालो यात्रा' कविता पालैपालो लयबद्ध वाचन गर्नुहोस् ।
९अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस् र यसका नियम लेख्नुहोस् ।
१०'उज्यालो यात्रा' कविताबाट लेखन र उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस् ।
११चन्दन र नन्दन जस्तै जोडी अनुप्रासयुक्त शब्द कविताबाट खोजेर लेख्नुहोस् ।
१२'जसका भावना हाँस्छन् मनमा रागिनी भरी / जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।' (अ) चार पाउ छुट्याएर लेख्नुहोस् । (आ) चारै पाउको पाँचौँ ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस् । (इ) चारै पाउको छैटौँ दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस् । (ई) चारै पाउका सातौँ वर्ण क्रमशः लेख्नुहोस् ।
१३'जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर' भन्ने कवितांशका आधारमा: धर्तीलाई केले मनोहर बनाएको छ ?
१४'उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर' भन्ने कवितांशका आधारमा: कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
१५'समर्पित भएका छन् जो सदा न्यायखातिर / संसारमा उठेका छन् तिनैका विजयी शिर ।' कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
१६'जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर, उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर । समर्पित भएका छन् जो सदा न्यायखातिर, संसारमा उठेका छन् तिनैका विजयी शिर ।' यस कवितांशबाट के सन्देश पाइन्छ ?
१७'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।
१८जीवन सार्थक पार्न के के गर्नुपर्छ ?
१९कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?
२०'उज्यालो यात्रा' कविताको मूल भाव के हो ?
२१कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तरण गर्नुहोस् ।
२२भाव विस्तार गर्नुहोस्: 'ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।'
२३भाव विस्तार गर्नुहोस्: 'उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ, आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।'
२४कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस् ।
२५कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस् ।
२६'परिश्रमको फल मिठो हुन्छ' भन्ने विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
२७'मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो' भन्ने विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
२८गुरुकुल भनेको के हो ?
२९गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
३०गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
३१गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
३२'गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।' यस वाक्यबाट एक एकओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।
३३'पढ्' धातुबाट एक एकओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।
३४गुरुकुलसम्बन्धी अनुच्छेदबाट सुरु, बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् ।
३५तरकारी पसलमा विक्रेता र क्रेताबिचको कुराकानी जस्तै कक्षाका साथीसँग मिलेर एक जना पसले र अन्य दुई जना ग्राहक बनेर विनयशीलतापूर्वक कुराकानी प्रस्तुत गर्नुहोस् ।
३६'फुर्वा असल विद्यार्थी हुन् । उनी सोलुखुम्बु जिल्लाको जनजागृति मा.वि.मा १० कक्षामा पढ्दै छन् । उनी सधैँ विद्यालय जान्छन् । उनी मिहिनेतपूर्वक पढ्छन् । उनी बिहान सबेरै उठ्छन् र आफूले पढ्नुपर्ने पाठ नियमित रूपमा पढ्छन् । कक्षामा गुरुले दिएको कक्षाकार्य सधैँ गर्छन् ।' यस अनुच्छेदका असल, उनी, पढ्दै छन्, सधैँ, मिहिनेतपूर्वक, पढ्छन्, सबेरै, आफूले र दिएको शब्दको पदवर्ग पहिचान गर्नुहोस् ।
३७'पदवर्ग विचलनसम्बन्धी बैठक' को सन्दर्भ पढेर पदवर्ग विचलनबारे साथीसँग छलफल गर्नुहोस् ।
३८'गरिब वर्गको उत्थान नभई देश समृद्ध बन्दैन । गरिबलाई राज्यले विशेष ध्यान दिनुपर्छ । धनी व्यक्ति वा सम्पन्न व्यक्तिबाट कर लिनुपर्छ । साथै धनी र सम्पन्नको व्यवसायको संरक्षण ... पनि राज्यले तयार गर्नुपर्छ । गरिबीको रेखामुनि वा रेखातल अवस्थित समुदायलाई सधैँ तल रहने वातावरण सिर्जना हुनुहुँदैन । ... असङ्ख्य विपन्न व्यक्तिको उत्थान हुने छ किनकि विपन्नलाई सम्पन्न नबनाई देश कहिल्यै विकसित हुँदैन ।' यस अनुच्छेदका गरिब, गरिबलाई, धनी, सम्पन्न, साथै, तल, विपन्न शब्दको पदवर्ग छुट्याउनुहोस् ।
३९'उज्यालो यात्रा' कविताको चौथो श्लोकबाट एक एकओटा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी र नामयोगी वर्गका शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
४०कोष्ठकमा दिइएको सङ्केतअनुसार शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्: (क) र: संयोजक, निपात (ख) भित्र: नामयोगी, क्रियायोगी (ग) तर: क्रिया, संयोजक, नाम (घ) यो: सर्वनाम, विशेषण (ङ) वृद्ध: नाम, विशेषण
४१पदवर्ग विचलन भएका कुनै तीनओटा शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्नुहोस् ।
४२'निरन्तर घोटिएर मात्र दाउरो चन्दन बन्छ भनिन्छ । मिहिनेत गरियो र पढियो भने मात्र आफूले चाहेको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ । विद्यार्थीले चाहेको लक्ष्यअनुसार भविष्यमा चिकित्सक, इन्जिनियर, शिक्षक अनि साहित्यकार आदि बन्न सक्छन् । आज कर्म गर्नेले भोलि फल प्राप्ति गरेरै छाड्छन् ।' यस अनुच्छेदबाट शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस् ।
४३शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका दस ओटा शब्द पर्ने गरी आफूलाई मन पर्ने विषयमा एउटा अनुच्छेद तयार गर्नुहोस् ।
४४'विद्यार्थी जीवन' शीर्षकमा छोटो कविता लेख्नुहोस् ।
४५पुस्तकालय वा अन्य स्रोतबाट कुनै एउटा पद्य कविता खोजी लयबद्ध वाचन गरेर कक्षामा सुनाउनुहोस् ।
४६'चन्द्रसूर्य बनी आफैँ कहिले बलुँला नि म ?' भन्ने हरफमा चन्द्रसूर्यको प्रयोग किन गरिएको होला ?
४७'कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन' भन्ने पाउलाई छन्दका नियमअनुसार जाँच्नुहोस् ।
४८'अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी' ले कस्तो मानिसको चित्र दिन्छ ?