एकाइ ४४ · सार्क राष्ट्रहरू र नेपाल

सार्क राष्ट्रहरू र नेपाल

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय

सार्क: दक्षिण एसियाका राष्ट्रहरूको साझा सङ्गठन

संसारका छिमेकी राष्ट्रहरू आपसमा मिलेर आफ्नो क्षेत्रका साझा समस्या समाधान गर्ने प्रयास गर्छन्। एउटै भौगोलिक क्षेत्रभित्र पर्ने राष्ट्रहरूले यसरी बनाएको सङ्गठनलाई क्षेत्रीय सङ्गठन भनिन्छ। आसियान, युरोपेली आर्थिक समुदाय र अफ्रिकी एकता सङ्घ यस्ता क्षेत्रीय सङ्गठनका उदाहरण हुन्। आपसी समस्या समाधानमा सामूहिक पहल गर्न र आपसमा मित्रता कायम गर्न यस्ता सङ्गठनको स्थापना हुन्छ। दक्षिण एसियाली सहयोग सङ्गठन अर्थात् सार्क पनि यस्तै एउटा क्षेत्रीय सङ्गठन हो, जसमा नेपाल आफैँ एउटा सदस्य राष्ट्र हो।

Definition

क्षेत्रीय सङ्गठन: एउटै भौगोलिक क्षेत्रभित्र पर्ने राष्ट्रहरूले आपसी समस्या समाधान गर्न र मित्रता कायम गर्न मिलेर स्थापना गरेको सङ्गठन।

Definition

सार्क: दक्षिण एसियाली सहयोग सङ्गठन। दक्षिण एसियाका राष्ट्रहरूको हित अभिवृद्धि गर्न स्थापना गरिएको क्षेत्रीय सङ्गठन।

सार्कको स्थापना र उद्देश्य

सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा एउटा सम्मेलन बस्यो। त्यस सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, श्रीलङ्का र माल्दिभ्सका राष्ट्र प्रमुख सहभागी थिए। उनीहरूकै सम्मेलनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन अर्थात् सार्कको स्थापना गरेको थियो। पछि अफगानिस्तान पनि समेटिएपछि सार्कको सदस्य सङ्ख्या आठ पुगेको छ।

सार्कका मुख्य उद्देश्य तीन कुरामा केन्द्रित छन्। दक्षिण एसियाका जनताको हितलाई अभिवृद्धि गर्नु, उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु र एकअर्का राष्ट्रका समस्याप्रति पारस्परिक विश्वास र समझदारी कायम राख्नु नै सार्कका मुख्य उद्देश्य हुन्।

Key idea

सात राष्ट्रले सार्कको स्थापना गरेका थिए। अफगानिस्तान थपिएपछि अहिले सदस्य सङ्ख्या आठ छ।

सामान्य त्रुटि

अफगानिस्तानलाई सार्क स्थापना गर्ने राष्ट्रमध्येको एक भनी नलेख्नुहोस्। सन् १९८५ मा ढाकामा सङ्गठन स्थापना गर्ने सात राष्ट्र थिए र अफगानिस्तान त्यसपछि मात्र सदस्य बनेको हो।

सार्कका आठ सदस्य राष्ट्र दक्षिण एसियामा कहाँ कहाँ अवस्थित छन् भन्ने देखाउने नक्सा।
सार्कका आठ सदस्य राष्ट्र दक्षिण एसियामा कहाँ कहाँ अवस्थित छन् भन्ने देखाउने नक्सा।

नेपाल र भारत पनि सार्कका सदस्य राष्ट्र हुन्। अरू छ सदस्य राष्ट्रको भौगोलिक अवस्था, जनजीवन र नेपालसँगको सम्बन्ध तल क्रमशः दिइएको छ।

बङ्गलादेश

बङ्गलादेश दक्षिण एसियाको उत्तर पूर्व क्षेत्रमा पर्ने देश हो। यसको पूर्वमा भारतको त्रिपुरा, मिजोरम राज्य र म्यानमार पर्छ। पश्चिममा भारतको पश्चिम बङ्गाल राज्य पर्छ। उत्तरमा भारतको आसाम र पश्चिम बङ्गालको केही भाग पर्छ भने दक्षिणमा बङ्गालको खाडी अवस्थित छ। बङ्गलादेश विश्वको धेरै जनसङ्ख्या भएको मुलुकमा पर्छ। यो एक मुस्लिम राज्य हो। यहाँ करिब ९०% मुसलमान र करिब १०% हिन्दुको सङ्ख्या रहेको छ। यसको राजधानी ढाका हो र क्षेत्रफल १,४३,९९८ वर्ग किमि रहेको छ। यहाँका मानिसले बङ्गाली भाषा बोल्छन्।

बङ्गलादेशको अधिकांश भूभाग समथर छ। त्यसो भए तापनि यहाँ कहीँ ससाना पहाड, कतै नदीले बनाएका समथर भूभाग र तटीय मैदानी भाग रहेका छन्। यहाँ मनसुनी हावापानी पाइन्छ। ग्रीष्ममा गर्मी हुन्छ र हिउँदको तापक्रम चिसो हुन्छ। ग्रीष्ममा समुद्रमा आउने आँधीले तटीय क्षेत्रमा नोक्सानी पुऱ्याउँछ। यहाँका मानिसका मुख्य पेसा कृषि र मत्स्य व्यवसाय हुन्। व्यापार र पर्यटनको पनि विकास हुँदै गइरहेको छ।

नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध सन् १९७२ अप्रिल ८ (वि.सं. २०२८ चैत्र २६) मा स्थापित भएको हो। नेपालबाट विभिन्न सागसब्जी, मसुरो, अदुवा, फलफूल आदि बङ्गलादेश निर्यात गरिन्छ। फलफूलको जुस, अन्न, कागज, कपडा, औषधीजन्य कच्चा पदार्थ, रासायनिक मल, तेलहन आदि आयात गरिन्छ। बङ्गलादेशमा नेपाली विद्यार्थी छात्रवृत्तिमा अध्ययन गर्न जाने गरेका छन्। समय समयमा हुने राष्ट्र प्रमुख र दुई देशका सरकारी अधिकारीको उच्चस्तरीय भ्रमणले पनि दुई देशबिचको सम्बन्ध प्रगाढ बनाएको छ।

पाकिस्तान

पाकिस्तान क्षेत्रफलका आधारमा सार्कको दोस्रो ठुलो देश हो। यसको क्षेत्रफल ८,८१,९१३ वर्ग किलोमिटर रहेको छ। यस देशको पूर्वमा भारत, पश्चिममा अफगानिस्तान र इरान, उत्तरमा चीन र दक्षिणमा अरब सागर पर्छन्। वर्तमान पाकिस्तान अङ्ग्रेजको शासनकालमा भारतको एक भाग थियो। यसको स्थापना सन् १९४७ मा भएको हो। यस देशको राजधानी इस्लामाबाद हो। सन् १९७१ मा भएको गृहयुद्धका कारण पूर्वी पाकिस्तान टुक्रिएर बङ्गलादेशको निर्माण भयो।

भौगोलिक रूपले पाकिस्तान विभिन्न छ प्रदेशमा विभाजित छ। उत्तरी उच्च हिमाली क्षेत्र, पश्चिमी पहाडी क्षेत्र, बलुचिस्तान उच्च समस्थली, पतोहार उच्च भूमि, पन्जाबको मैदान र सिन्ध मैदान यहाँका विविध भौगोलिक क्षेत्र हुन्। विश्वको दोस्रो उच्च शिखर गड्विन अस्टिन (के२) र नवौँ उच्च शिखर नाङ्गा पर्वत पनि पाकिस्तानमा पर्छन्।

यहाँका अधिकांश मानिस इस्लाम धर्म मान्छन् र केही सङ्ख्यामा हिन्दु पनि रहेका छन्। पाकिस्तानमा भाषिक विविधता रहेको छ। उर्दु यहाँको राष्ट्रिय भाषा हो। बलोची, ब्रोची, पास्तो, पन्जाबी, सिन्धी आदि यहाँ बोलिने अन्य भाषा हुन्। यहाँका मानिसको मूल पेसा कृषि हो। पर्यटन र व्यापार यहाँका अन्य आर्थिक क्रियाकलाप हुन्। नेपाल र पाकिस्तानका बिचमा सन् १९६० मार्च २० (वि.सं. २०१६ चैत्र ७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालले पाकिस्तानमा चिया, मफ्लर, अलैँची, मुसुराको दाल, जडीबुटी आदि सामान निर्यात गर्छ भने मसला, ओखर, विभिन्न उपकरण, औषधी आदि आयात गर्छ।

भुटान

भुटान दक्षिण एसियाको उत्तर पूर्वी भागमा रहेको छ। यो एक भूपरिवेष्टित राष्ट्र हो। यसको पूर्व, पश्चिम र दक्षिणमा भारत पर्छ भने उत्तरमा चीन पर्छ। यस देशको राजधानी थिम्पु हो। भुटानलाई भौगोलिक रूपले तीन भागमा विभाजन गरिन्छ। यसको उत्तरी क्षेत्रमा उच्च हिमाली प्रदेश पर्छ भने मध्य क्षेत्रमा मध्य हिमाली क्षेत्र पर्छ। भुटानको दक्षिणमा भने मैदानी भाग रहेको छ। यसको क्षेत्रफल ३८३९४ वर्ग किमि रहेको छ। भुटान मनसुनी क्षेत्रमा परे पनि यहाँको हावापानीमा एकरूपता पाइँदैन।

Definition

भूपरिवेष्टित राष्ट्र: चारैतिर स्थलले घेरिएको र समुद्रसँग सिधा पहुँच नभएको राष्ट्र। सार्कमा भुटान, अफगानिस्तान र नेपाल भूपरिवेष्टित राष्ट्र हुन्।

सार्क राष्ट्रमध्ये राजतन्त्र रहेको एक मात्र देश भुटान हो। यहाँ भुटिया (ड्लोप), नेपाली र सार्चोप गरी ३ जातिको बसोबास रहेको छ। यहाँका मुख्य धर्म बौद्ध र हिन्दु धर्म हुन्। यहाँका मानिसले जोङ्खा, नेपाली र अन्य भाषा बोल्छन्। कृषि, व्यापार, पर्यटन, पशुपालन आदि भुटानका मुख्य आर्थिक क्रियाकलाप हुन्। नेपाल र भुटानका बिचमा सन् १९८३ जुन महिना (वि.सं. २०४० जेठ २०) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालबाट मूर्तिकलाका सामान, साबुन, गार्मेन्ट, विद्युतीय सामग्री भुटानमा निर्यात गरिन्छ भने सिमेन्ट, कोइला आदि सामान आयात गरिन्छ। भुटान र नेपालबिच हुने उच्च स्तरीय भ्रमणले दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थपेको छ।

श्रीलङ्का

श्रीलङ्का हिन्द महासागरमा रहेको टापु देश हो। यसको राजधानी कोलम्बो हो। यस मुलुकको कुल क्षेत्रफल ६५,६१० वर्ग किमि रहेको छ। यो भारतको मूल भूमिबाट जम्मा ६० किमि दक्षिणमा अवस्थित छ। यसको उत्तर पूर्व दिशामा बङ्गालको खाडी पर्छ। यसको उत्तर पश्चिम दिशामा अरब सागर र दक्षिण पश्चिम दिशामा माल्दिभ्स पर्छन्। श्रीलङ्काको भौगोलिक अवस्थालाई मुख्यतः मध्य उच्चभूमि, मैदानी क्षेत्र र तटीय क्षेत्र गरी तीन भागमा विभाजन गर्न सकिन्छ।

श्रीलङ्काको जनसङ्ख्याको ठुलो हिस्सा सिँहाली, तमिल र मुस्लिम जातिको रहेको छ। यहाँका अधिकांश मानिस बौद्ध धर्म मान्छन्। हिन्दु, मुस्लिम र क्रिस्चियनहरूको सङ्ख्या पनि उल्लेख्य रहेको छ। सिँहाला र तामिल यहाँ बोलिने मुख्य भाषा हुन्। श्रीलङ्काको हावापानी निकै गर्मी प्रकारको छ र यहाँ प्रायः वर्षा भइरहन्छ। यहाँका मानिसले मत्स्य व्यवसाय तथा कृषि गर्छन्। यहाँको मूल आयस्रोत भने पर्यटन हो।

नेपाल र श्रीलङ्काका बिचमा १९५७ जुलाई १ (वि.सं. २०१४ असार १८) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। श्रीलङ्का र नेपालबिच सांस्कृतिक सम्बन्ध सुमधुर रहेको छ। श्रीलङ्काबाट नेपालले कोइला, सिसा, रसायन तथा मेसिनरी सामान आयात गर्छ भने ऊन, ऊनबाट बनेका सामान, तयारी पोसाक आदि निर्यात गर्छ।

माल्दिभ्स

हिन्द महासागरीय क्षेत्रमा रहेको माल्दिभ्स करिब १२०० ओटा टापु मिलेर बनेको छ। यी टापु धेरै अग्ला छैनन्। यी टापुको तटीय क्षेत्र समुद्रबाट करिब ६ फिटमाथि रहेको छ। यसको राजधानी माले हो। यो करिब ९,००० वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ। समुद्रको प्रभावले गर्दा यहाँ प्रायः वर्षा भइरहने हुनाले हावापानी सुरम्य प्रकारको छ।

समुद्रबाट करिब ६ फिट मात्र माथि रहेका टापुहरू मिलेर माल्दिभ्स बनेको छ। यो देशको बनोट कस्तो छ भन्ने यहाँ देख्न सकिन्छ।
समुद्रबाट करिब ६ फिट मात्र माथि रहेका टापुहरू मिलेर माल्दिभ्स बनेको छ। यो देशको बनोट कस्तो छ भन्ने यहाँ देख्न सकिन्छ।

माल्दिभ्स एक मुस्लिम राष्ट्र हो। यहाँको मुल भाषा माल्दिभियन हो। यसलाई दिवेही भाषा पनि भनिन्छ। अरेबिक, हिन्दी र अङ्ग्रेजी भाषा पनि यहाँ बोलिन्छन्। १६ औँ शताब्दीको सुरुआतदेखि विभिन्न मुलुकले यसलाई आफ्नो उपनिवेश बनाउन थाले। सन् १९७६ मा यसले अङ्ग्रेजबाट स्वतन्त्रता पायो। यहाँको अर्थतन्त्र पर्यटन, मत्स्य व्यवसाय, डुङ्गा निर्माण तथा मर्मत कार्यमा निर्भर रहेको छ। यसमा प्रायः द्विप समूह रहेका छन्। नेपाल र माल्दिभ्सका बिचमा १९८० को अगस्ट १ (वि.सं. २०३७ साउन १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। नेपाली रोजगारीका सिलसिलामा माल्दिभ्स जाने गरेका छन्। समय समयमा हुने उच्चस्तरीय भ्रमणले दुई देशबिचको सम्बन्ध सुमधुर बनाउन मदत पुऱ्याएको छ।

अफगानिस्तान

अफगानिस्तान पनि सार्कको एक भूपरिवेष्टित राष्ट्र हो। यसको क्षेत्रफल ६,५२,८६० वर्ग किमि रहेको छ। यसको राजधानी काबुल हो। अफगानिस्तानमा भौगोलिक रूपले विविधता रहेको छ। उब्जाउ उपत्यका, गहिरा गल्छी, मरुभूमि, उच्चसमस्थली, मैदानी तथा हिमाली क्षेत्र यहाँ रहेका छन्। यहाँ हिउँदमा निकै चिसो हुन्छ भने ग्रीष्ममा न्यानो हुन्छ। जुलाई र सेप्टेम्बर महिनामा मनसुनी वायुका कारणले गर्दा यहाँ वर्षा हुन्छ।

यहाँ बसोबास गर्ने प्रायः सबै मानिसले मुस्लिम धर्म मान्छन्। यहाँ जातीय विविधता रहेको पाइन्छ। यहाँ पस्तुन, ताजिक, हजारा, उज्बेक, चाहार आइमक, तुर्कमेन आदि जातिका मानिस बसोबास गर्छन्। यी मानिसले बोल्ने भाषामा पनि विविधता रहेको छ। यहाँका धेरै मानिसले बोल्ने र कार्यालयमा प्रयोग हुने भाषा पुस्तुन र पर्सियन (दारी) हुन्। दार्दिक, बालोची, तुर्किक, उज्बेक आदि यहाँ बोलिने अन्य भाषा हुन्। नेपाल र अफगानिस्तानका बिचमा १ जुलाई १९६१ (वि.सं. २०१८ असार १७) मा दौत्य सम्बन्ध स्थापना भएको हो।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मितिहरू

Definition

कूटनीतिक सम्बन्ध: दुई स्वतन्त्र राष्ट्रले एकअर्कालाई आधिकारिक मान्यता दिई राजदूत तथा सरकारी तहमा औपचारिक सम्पर्क राख्ने व्यवस्था। यसलाई दौत्य सम्बन्ध पनि भनिन्छ।

नेपालले सार्कका छिमेकी राष्ट्रहरूसँग फरक फरक समयमा कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यी मिति सँगै राखेर हेर्दा नेपालको छिमेकसँगको सम्बन्ध कुन क्रममा अघि बढ्यो भन्ने प्रस्ट हुन्छ।

देशसन्वि.सं.
श्रीलङ्का१९५७ जुलाई १२०१४ असार १८
पाकिस्तान१९६० मार्च २०२०१६ चैत्र ७
अफगानिस्तान१९६१ जुलाई १२०१८ असार १७
बङ्गलादेश१९७२ अप्रिल ८२०२८ चैत्र २६
माल्दिभ्स१९८० अगस्ट १२०३७ साउन १७
भुटान१९८३ जुन२०४० जेठ २०

राजधानी र क्षेत्रफल सँगै राखेर हेर्दा सार्क राष्ट्रहरूको आकारमा कति फरक छ भन्ने थाहा हुन्छ।

देशराजधानीक्षेत्रफल (वर्ग किमि)
पाकिस्तानइस्लामाबाद८,८१,९१३
अफगानिस्तानकाबुल६,५२,८६०
बङ्गलादेशढाका१,४३,९९८
श्रीलङ्काकोलम्बो६५,६१०
भुटानथिम्पु३८३९४
माल्दिभ्समालेकरिब ९,०००

क्रियाकलाप

  • आफ्नो कापीमा सार्कको नक्सा बनाई त्यहाँ रहेका देश र तिनीहरूको राजधानी देखाउनुहोस्।
  • सार्क राष्ट्रसम्बन्धी विभिन्न समाचार आइरहेका हुन्छन्। ती समाचार सङ्कलन गरी कक्षाको बुलेटिन बोर्डमा टाँस्नुहोस्।
  • विभिन्न स्रोतको अध्ययन गरी सार्क सदस्य देशमा हालसालै घटेका सामाजिक, आर्थिक र राजनीतिक घटनाको विवरण तयार पारी कक्षाकोठामा प्रस्तुत गर्नुहोस्।
🔐

पूरा पाठ तपाईंकै लागि तयार छ

नोट पूरै निःशुल्क पढ्न पाइन्छ। निःशुल्क खाताले बाँकी अभ्यास खोल्छ र हरेक विषयको प्रगति तथा आत्मविश्वास अंक राख्छ। प्रस्तुतीकरण र भिडियोका लागि Learn Yeti को स्वीकृति चाहिन्छ।