घटना अध्ययन र छलफल
घटनाएउटा गाउँमा कचहरी बसेको छ। गाउँबाट चेलीहरूलाई सहरका क्याबिन र रेस्टुरेन्टमा काम गर्न बाध्य पार्ने दलाललाई गाउँलेले पक्रेर प्रहरीलाई बुझाउन लागेका छन्। गत वर्ष पनि गाउँबाट पाँच जना चेली हराएका थिए र उनीहरूलाई सस्तो पारिश्रमिकमा विदेशमा काम गर्न पठाएको हल्ला चलेको थियो। उनीहरूले विदेशमा दुःख पाएको खबर समाचारमा आएपछि गाउँले यी मानव तस्करलाई कारबाही गर्न तातेका थिए। त्यस्तै केही बालबालिकालाई घरेलु कामदार र सर्कसलगायतका बालश्रममा लगाएको हल्ला पनि चलेको थियो।
कचहरीमा के के भनियोयस्ता गतिविधिमा संलग्न व्यक्तिका विरुद्ध सबै सचेत र चनाखो हुनुपर्ने आवाज उठ्यो। गाउँमा कुनै नौलो मानिस देखिएमा अभिभावक, प्रहरी र जनप्रतिनिधिलाई खबर गर्नुपर्ने कुरा भनियो। कसैले फकायो भने आफू सचेत हुने र अभिभावकलाई जानकारी दिने कुरा थपियो। शरीरका अङ्ग बेचबिखन गर्ने कार्य पनि मानव बेचबिखन नै हो र समाजमा मिर्गौला बेच्ने कार्य मौलाएको कुरा पनि उल्लेख भयो। यसलाई नियन्त्रण गर्न वडामा छिट्टै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र मुख्य कारण गरिबी भएकाले वडामा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी पनि दिइयो।
छलफलका प्रश्नमाथिको घटना अध्ययन गरी दिइएका प्रश्नको उत्तर लेख्नुहोस्। (क) मानव बेचबिखन भनेको के हो? (ख) मानव बेचबिखन सामाजिक अपराध हो, किन? (ग) मानिसलाई कम ज्याला र निकृष्ट श्रममा लगाउँदा के के समस्या आउँछन्? (घ) मानव अङ्ग बेचबिखनमा मुख्य गरी शरीरका कुन कुन अङ्ग बेचबिखन हुने गरेका छन्? (ङ) मानव बेचबिखन रोक्न अवलम्बन गर्न सकिने उपायहरू लेख्नुहोस्।